Home � सरकारमा गएर समस्याको समाधान गर्छौ: दाहाल

सरकारमा गएर समस्याको समाधान गर्छौ: दाहाल

काशीराम डाँगी
रोल्पा, फाल्गुन १ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले माओवादी सरकारमा गएर मुलुकको समस्या समाधान गर्ने योजना रहेको बताएका छन् । साथै सबै दल मिलेर मात्र मुलुकलाई नयाँ संविधान दिन सकिने पनि उनले बताए ।

माओवादीले 'जनयुद्ध' सुरु गरेको १६ वर्षगाँठको अवसरमा रोल्पा आएका उनले रोल्पाबाट पुनः युद्ध होइन, शान्ति र प्रगतिको सन्देश दिन चाहेको बताए । २०५२ फागुन १ गते सशस्त्र युद्ध सुरु गरेको सम्झनामा माओवादीले फागुन १ लाई 'जनयुद्ध' दिवस मनाउदै आएको छ ।

माओवादी युद्ध सुरुआतको आधारभूमि मानिएको रोल्पाको थबाङमा आइतबार आयोजना गरिएको जनभेलामा उनले युद्ध उद्‌गम थलो थबाङको विकास गर्ने योजना सुनाए । 'जनयुद्धको आधारभूमि थबाङ र यहाका बासिन्दालाई खुशी पार्नु अहिलेको उद्देश्य हो ।' उनले भने 'माओवादीका नेता फुटेर होइन, जुटेर समस्या समाधान गर्न सक्छन् ।'

रोल्पाबाट सुरु भएको सशस्त्र युद्धताका करिब १३ हजारको बलिदानी भइसेको पृष्ठभूमिमा रोल्पामा आएका उनले सहिदको सपना साकार पार्न पार्टी नयाँ योजना बनाउन सोचाइ रहेको बताए । जनयुद्धका क्रममा रोल्पाका मात्र ७ सय ४४ जनाले ज्यान गुमाएका थिए । माओवादीले 'लाल येनान' नामाकरण गरेको थबाङमा दोस्रो जनआन्दोलन पछि प्रधानमन्त्री भइसकेका माओवादी अध्यक्ष दाहाललाई ल्याउन माओवादी रोल्पाले थबाङमा जनभेला आयोजना गरेको हो । कार्यक्रम एक दशक अघि नेपाली सेनाद्वारा आक्रमण गरी ध्वस्त पारिएको मध्य थवाङमा आयोजना गरिएको हो ।

लामो समय सरकार बन्न नसकेको कारणहरु उल्लेख गर्दै उनले अहिले भने माओबादीकै भरमा सरकार बनाइएको बताए । 'मुलुकका समस्या समाधान गर्ने ग्यारेन्टी भए हामी सरकारमा जान पनि सक्छौं' उनले भने 'तर, षडयन्त्र भएका हामी सरकारमा होइन, विरोधमा जाने छौं ।'

माओवादीभित्र आन्तरिक विवाद भइरहेको सार्वजनिक भएको अवस्थामा विवाद मिलाइरहेको उनले स्वीकार गरे । 'पार्टी टुट्दैन, हामी सधै जुटेर जाने छौं' निकै नरम देखिएका उनले भने 'हाम्रो नेताको टिम रगतको भेलसँग लड्दै भिड्दै उठेकाले यो कहिल्यै फुट्ने शंका नै छैन ।'

कुनै कुनै बेला पार्टी नीतिबारे गरिएको बहसलाई विवाद भनी सार्वजनिक मात्र भएको उनले भए । पार्टीभित्रको अन्तरिक छलफलले पार्टी फुट्ने भन्दा पनि अझ बलियो हुने उनले बताए । बहसले एक ढिक्का बनाउन सहयोग गरेको उल्लेख गर्दै उनले पार्टी खुला भएपछि भने बहस र छलफलका विषय भिन्न भएको बताए ।

जनयुद्ध औपचारिक रुपमा स्थगित गरिएको बताउँदै उनले षडयन्त्र नरोकिए पुनः विद्रोहमा जान सकिने बाताए । नयाँ संविधान बनाउने सम्बन्धमा कमै बोलेका उनले लामो समय विगतको अवस्था र परिस्थितिका बारेमा रोल्पाली जनताको प्रशंसा गरे । 'यहाँका महिला, बृद्ध र बालबालिकाले जनयुद्धमा ठूलो योगदान गरेका छन्' उनले भने ।

संविधान बनाउन आफुहरु लागिपरे पनि राष्ट्रिय एवं अन्तराष्ट्रिय शक्तिले रोकिरहेको उनले आरोप लगाए । 'काँग्रेस र एमालेका केही शक्ति संविधान नबनाउने पक्षमा लागेका छन्' उनको आरोप थियो 'शान्ति प्रक्रिया नटुंगिएको अवस्थामा माओवादीले पुनः क्रान्ति गर्न सकिने संभावना अझै छ ।' नेपाल पूर्ण रुपमा स्वतन्त्र भइनसक्दासम्म आफूहरु लडिरहने उनले बताए । सहमति नगरी कुनै पक्षले वेवास्ता गरेमा जनताको पक्षमा आफू लड्न तयार भएको चेतावनी समेत उनले सुनाए ।

कार्यक्रममा माओबादी स्थायी समिति सदस्य नेत्रविक्रम चन्द 'विप्लव', केन्द्रीय सदस्यहरु हेमन्तप्रकाश वली 'सुदर्शन', कुलप्रसाद केसी 'सोनाम', सन्तोष बुढा, दिपेन्द्र पुन 'सिजल' लगायतले बोलेका थिए । माओवादी अध्यक्ष दाहाल आइतबार नै राजधानी फर्केका छन् । चुनबाङ बैठकपछि पहिलो पटक थबाङमा सार्वजनिक रुपमा देखिएका उनी हेलिकप्टरमा आएका थिए । जलजला लेक र ढोरपाटनको अवलोकन गरी आइतबार बेलुकी प्रधानमन्त्री झलनाथ खनालसँग भेटघाट रहेको भन्दै उनी हतारहतारमा रोल्पाबाट फिर्ता भएका हुन् । साभार : इ - कान्तिपुर

0 comments to "सरकारमा गएर समस्याको समाधान गर्छौ: दाहाल"

Leave a comment