Home � सात बुँदे मात्र हैन अरु पनि सहमति हुन्छन् : प्रधानमन्त्री

सात बुँदे मात्र हैन अरु पनि सहमति हुन्छन् : प्रधानमन्त्री

कान्तिपुर संवाददाता
काठमाडौं, फाल्गुन १ - माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भएको सात बुँदे सहमतिका विषयमा पार्टीभित्रैबाट विरोध भइरहेकाबला प्रधानमन्त्री झलनाथ खनालले अझै थप सहमति हुने बताएका छन् । खनालले सात बुँदे सहमतिबाटै आफू प्रधानमन्त्री भएको दाबी गरे ।

'सहमतिको पालना सुरु भइसकेको छ,' आइतबार प्रेस चौतारीले प्रधानमन्त्री र मन्त्रीहरुको सम्मानमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले भने, 'आगामी दिनमा थप सहमतिका समाचार आउनेछन् ।' उनले सात बुँदे सहमतिको मूल भावनालाई पालना गरिने दोहोर्‍याउँदै कतिपय अस्पष्टता र आशङ्कालाई मेटाइने उल्लेख गरे ।

प्रधानमन्त्री खनालले सवै सहमतिहरु एकैबाजी नभए पनि समयक्रममा कार्यान्वयन हुने बताए । 'माओवादीले पनि त धेरै दस्तावेज निर्माण गरेका छन्, के तिनीहरु सवै कार्यान्वयन भएका छन्,' उनको प्रश्न थियो । उनले सहमति कार्यान्वयमा आशंका नगर्न आग्रह गरे ।

गृह मन्त्रालय कुनै हालतमा माओवादीलाई दिन नसक्ने बरिष्ठ नेता माधवकुमार नेपाल र केपी शर्मा ओलीको आइरहेका बेला प्रधानमन्त्रीले भने एउटै मन्त्रालयमा नअल्झने बताए । 'गृह मन्त्रालय एमालेले राख्दा राम्रो हुने हाम्रो ठहर हो, तर लामो समयसम्म मन्त्रालयका नाममा मात्रै अल्झिने अवस्था छैन,' खनालले भने ।

कार्यक्रममा प्रधानमन्त्री खनालसहित उप्रप्रधानमन्त्री भरतमोहन अधिकारी र मन्त्री गङ्गालाल तुलाधर सहभागी थिए । तर मन्त्री विष्णु पौडेल उपस्थित भएनन् । साभार : इ - कान्तिपुर

0 comments to "सात बुँदे मात्र हैन अरु पनि सहमति हुन्छन् : प्रधानमन्त्री"

Leave a comment